Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Bikash Shrestha
  • October 13, 2025
  • 642

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

Description of literary sources on the beginning of human settlement and statehood in Nepal

पुरातात्त्विक स्रोतको अभावमा लिच्छविकालपूर्वको नेपालको इतिहास स्पष्ट हुन सकेको छैन। नेपालमा मानव सभ्यताको आरम्भबारे जानकारी मौखिक परम्परामा आधारित वंशावली र पुराणिक ग्रन्थहरूबाट मात्र प्राप्त हुन्छ । यस्ता स्रोतहरूमध्ये डेनियल राइटले प्रकाशित गरेको एक वंशावली र स्वयम्भू पुराण मुख्य मानिन्छन् । तिनीहरूका अनुसार प्रारम्भमा काठमाडौं उपत्यकाको वरिपरि घना जंगल र बीचमा सुन्दर ताल थियो। यही तालछेउको पहाडमा विपश्वी बुद्ध आफ्नो शिष्यहरूसहित ध्यान गर्न आएका थिए। उनले भविष्यवाणी गरेका थिए कि भविष्यमा यो ताल सुक्नेछ र यहाँ मानव बसोबास सुरु हुनेछ । बुद्धका पछि शिखी बुद्ध, विश्वम्भू बुद्ध र क्रकुच्छन्द बुद्ध पनि काठमाडौं उपत्यकामा आएको उल्लेख स्वयम्भू पुराण र वंशावलीमा पाइन्छ। स्वयम्भू पुराण अनुसार विपश्वी बुद्धले देखेको कमलफूलको दर्शन गर्न बोधिसत्व मञ्जुश्री महाचीनबाट आए । उनले चोभारको डाँडो काटी पानी निकास गरेपछि उपत्यकामा मानव बसोबास सुरु भयो। मञ्जुश्रीले मञ्जुपतन नामको सहर निर्माण गरी धर्माकर नामका व्यक्तिलाई पहिलो राजा बनाए। यही घटनाबाट नेपालमा मानव सभ्यताको आरम्भ भएको बताइन्छ । नेपाल महात्म्य पुराण र केही अन्य वंशावलीहरूले भने उपत्यकाको पानी बाहिर निकाल्ने श्रेय भगवान् कृष्ण र उनका छोरा प्रद्युम्नलाई दिएका छन्। तिनीहरूको अनुसार, दक्षिणबाट आएका कृष्ण र प्रद्युम्नले यहाँका दैत्यहरू—महेन्द्रदमन, कच्छपासुर, र बाणासुर—लाई पराजित गरी सुदर्शन चक्रले चोभारको डाँडो काटे र पानी निकास गरेपछि मानव बसोबास सुरु भयो। उनीहरूले आफ्नासँग आएका गोपाल वंशका मानिसहरूलाई यहाँका राजा बनाए । यी पुराण र वंशावलीका वर्णनहरू ऐतिहासिक तथ्यभन्दा लोकविश्वासमा आधारित देखिन्छन्। भूगर्भशास्त्रले पनि काठमाडौं उपत्यका प्रारम्भमा ताल रहेको र भू–गर्भीय परिवर्तनका कारण पानी बाहिरिएपछि मानव बसोबास सुरु भएको प्रमाणित गरेको छ। त्यसैले वंशावली र पुराणले पनि यही घटनालाई संकेत गरेको मान्न सकिन्छ । मध्यकालको आरम्भतिर लेखिएको गोपाल राजवंशावली ले काठमाडौं उपत्यकामा विकसित राज्य व्यवस्थाको क्रमबद्ध विवरण दिएको छ। पुरातात्त्विक स्रोत नपाइने अवस्थासम्म नेपालको राजनीतिक इतिहास यस्ता वंशावलीमा आधारित रहनुपरेको थियो । यस वंशावली अनुसार, भगवान् कृष्णसँग आएका गोपाल वंशका सात पुस्ताका राजाहरूले करिब ५०५ वर्ष ३ महिना शासन गरे। यी गोपाल राजाहरू गुप्त थरका थिए। त्यसपछि तीन पुस्तासम्म महिषपाल वंशका सिंह थरका राजाहरूले करिब १६१ वर्ष २ महिना शासन गरेको उल्लेख छ। अन्य वंशावलीहरूमा यस्ता विवरणमा केही फरक भए पनि गोपाल राजवंशावलीको विवरण बढी विश्वसनीय मानिन्छ।  विभिन्न वंशावली अनुसार, महिषपाल वंशका अन्तिम राजाहरूलाई हराएपछि नेपालको शासन किराँत वंशका हातमा गयो। गोपाल राजवंशावलीका अनुसार किराँत वंशका ३२ शासकहरूले कुल १७०१ वर्ष शासन गरे। यस वंशका प्रथम राजा एलम (वा यलम्वर) थिए। डेनियल राइटले प्रकाशित वंशावलीमा किराँत राजाहरूका केही गतिविधिहरू पनि उल्लेख छन्—जस्तै छैटौं राजा हुमतिको शासनकालमा महाभारत युद्ध भएको र उनले कौरव पक्षबाट युद्धमा भाग लिएको, सातौं राजा जितेदस्तीको पालामा गौतम बुद्धले नेपाल भ्रमण गरेको, र चौधौं राजा स्थुंकोको समयमा सम्राट अशोकले नेपाल भ्रमण गरेको उल्लेख पाइन्छ। यी विवरणहरू ऐतिहासिक रूपमा पुष्टि भएका भने छैनन्, तर यसले नेपालमा किराँतहरूको दीर्घकालीन शासनको संकेत अवश्य गर्छ । किराँत राजाहरूलाई पराजित गरी भारतको वैशालीबाट आएका लिच्छविहरूले नेपालको शासन सम्हाले। लिच्छवि वंशको शासन आरम्भको ठ्याक्कै समय ज्ञात छैन, तर इस्वी सन् सुरुवाततिर उनीहरू नेपाल आएका मानिन्छन्। यस वंशका प्रारम्भिक राजाहरूको नाम स्पष्ट छैन । पशुपतिमा जयदेव द्वितीयले राखेको अभिलेखमा सुपुष्प र जयदेव प्रथमले व्यवस्थित शासन चलाएको उल्लेख छ। चाँगुनारायणको अभिलेखमा वृषदेव, शंकरदेव र धर्मदेवको शासनको विवरण पनि पाइन्छ । यी सबै मानदेव प्रथमका पुर्खा थिए — वृषदेव उनका जिजुबुबा, शंकरदेव हजुरबुबा र धर्मदेव उनका बुबा । धर्मदेवपछि मानदेव राजा भए । उनले आफ्नो नाम र तिथिमितिसहितको अभिलेख राखेकाले उनलाई नेपालको पहिलो प्रमाणित राजा मानिन्छ ।

 
 
 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 39
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 65
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 55
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 24
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA