Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गत आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान

  • Ajnabee Khadka
  • August 20, 2023
  • 438

गत आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान

गत आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान

दुई आर्थिक वर्ष नोक्सानी खेपेको आयल निगम गत आवमा अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पेट्रोलियमको मूल्य नघटाउँदा चर्को नाफा आर्जन गर्न सफल भएकाे छ । सरकारको पूर्ण तथा आंशिक लगानीमा सञ्चालित ४२ मध्ये केही संस्थान मात्रै नाफामा गएर सरकारलाई लाभांश दिन सक्षम भएका छन् ।

गत आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थानको सूचीमा आयल निगम लिमिटेड पहिलो भएको छ । दोस्रो स्थानमा विद्युत् प्राधिकरण रहेको छ ।गत आर्थिक वर्षको असोजदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ नियमित रूपले घटेको थियो । तर, निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा मूल्य समायोजन नगरी चर्को नाफा राखेका कारण हाल सञ्चालनमा रहेका ४२ संस्थानलाई उछिन्दै आयल निगम सबैभन्दा धेरै नाफा गर्न सफल भएको हो ।

आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार निगमले गत आवमा १८ अर्ब रुपैयाँ नाफा गरेको छ । नाफा भएको सबै रकम अघिल्लो आव ०७८/७९ को ऋण र बक्यौता तिर्न खर्च भएको पनि उनले बताए । ‘आयल निगमले गत आवमा चर्को मुनाफा राख्नैपर्ने बाध्यता थियो । किनभने त्यसअघिको वर्षमा अन्तर्राष्ट्रिय बजारमा ठूलो अन्तरले मूल्य बढे पनि नेपाली बजारमा सोहीअनुसार समायोजन गर्न नपाउँदा निगमलाई ४८ अर्ब ९५ करोड नोक्सान भएको थियो,’ कार्यकारी निर्देशक थानीले भने, ‘सो नोक्सानी भर्पाई गर्नकै लागि गत आवमा नाफा गरिएको यथार्थ उपभोक्ताले पनि बुझ्नुभएको छ ।’

आव ०७८/७९ सम्म निगम १७ अर्ब ८१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा थियो । तर, गत आवमा आर्जन गरेको नाफाले संस्थालाई सञ्चित नाफाको स्थितिमा समेत पुर्‍याएको छ ।

गत आवमा धेरै नाफा गर्ने संस्थानको सूचीमा निगमपछि दोस्रो स्थानमा विद्युत् प्राधिकरण रहेको छ । प्राधिकरणले १२ अर्ब ३३ करोड नाफा कमाएको छ । प्राधिकरणको नाफा अघिल्लो आव ०७८/७९ को १३ अर्ब ३७ करोड थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिजुलीको माग धान्न आयातको परिमाण बढाउनुपर्दा नाफामा असर गरेको हो । ‘सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाब घट्न गई सरकारी तथा निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आएको र बिजुली माग धान्न आयातको परिमाण बढाउनुपर्दा नाफाको दर खुम्चिन पुगेको हो,’ घिसिङले भने । उनका अनुसार गत आवमा विद्युत् प्राधिकरणले भारततर्फ १० अर्ब ३५ करोड रुपैयाँको विद्युत् निर्यात गर्दा १९ अर्ब ४५ करोड रुपैयाँको आयात गरेको थियो । प्राधिकरणको नाफादर घटे पनि चुहावट नियन्त्रण र विद्युत्को पहुँच विस्तारमा भने क्रमिक रूपमा सफलता मिलिरहेको छ । दुई वर्षअघि ८९ पतिशत घरधुरीमा रहेको विद्युत् पहुँच गत आवसम्म बढेर ९५ प्रतिशत पुगेको छ भने चुहावटदर पनि १३.४६ प्रतिशतबाट घटेर ९.७६ प्रतिशतमा आइपुगेको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले गत आवमा तीन अर्ब ८० करोड रुपैयाँ नाफाको प्रक्षेपण गरेको छ । कोषले निक्षेप बिमकका रूपमा काम गर्दै आएको छ । खासगरी कुनै बैंक तथा वित्तीय संस्था टाट पल्टदा निक्षेपकर्तालाई पर्न सक्ने सम्भावित नोक्सानबाट जोगाउन ०६८ देखि सरकारले कोषको स्थापना गरी सञ्चालन गर्दै आएको छ । स्थापनादेखि कोष निरन्तर नाफामा छ ।

सरकारी तीनवटै बैंक पनि नाफामा छन् ।  तीनवटै बैंकको अघिल्लो आवको तुलनामा गत आवमा नाफादर वृद्धिसमेत भएको छ । प्रारम्भिक बित्तीय वितरणअनुसार राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ९१ करोड, नेपाल बैंकले तीन अर्ब ४१ करोड र कृषि विकास बैंकले तीन अर्ब १० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । त्यस्तै, नागरिक लगानी कोषले ९० करोड ७८ लाख रुपैयाँ र बिमा कम्पनी लिमिटेडले ७७ करोड ३५ लाख रुपैयाँ नाफा गरेका छन् ।

 

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 73
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 78
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 77
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 28
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 154
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA