मल्ल वंशको परिचय
मल्ल वंशको परिचय
नेपाल उपत्यकामा मल्ल वंशको शासन व्यवस्था तेह्रौं शताब्दीको आरम्भदेखि स्थापित भएको मानिन्छ। यस वंशका प्रारम्भिक शासकको रूपमा अरि मल्लको नाम लिइन्छ, यद्यपि मल्लहरूको सक्रियता अरि मल्लभन्दा एक शताब्दी अघिदेखि नै शासन क्षेत्रमा देखिन्छ। गोपाल राजवंशावली तथा केही अभिलेखहरूमा पनि मल्लहरूको प्रारम्भिक सक्रियताको प्रमाण पाइन्छ।
मल्लहरू प्राचीन क्षत्रिय जातिका रूपमा चिनिन्छन्। संस्कृत वाङ्मय, महाभारत, बौद्ध साहित्य, मनुस्मृति तथा विभिन्न पुराणहरूमा मल्लहरूको उल्लेख गरिएको छ। महाभारतमा मल्लहरूको चर्चा काशेलहरूसँग सँगै गरिएको छ। माकण्डेय पुराणमा तिनीहरूलाई मिथिलाका विदेहहरूसँग जोडेर वर्णन गरिएको छ।
पाँचौं र छैटौं शताब्दी ईसा पूर्वका सङ्गठित गणराज्यहरू क्रमशः राजतन्त्रमा परिणत हुँदै गएपछि नेपालमा विभिन्न राजवंशहरू प्रवेश गरेका थिए। लिच्छवि, कोली, शाक्य र मल्लहरू शरणार्थीका रूपमा नेपाल आएका थिए। शाक्यहरू काठमाडौं उपत्यकामा बसोबास गर्न थाले भने कोलीहरू आजको कीर्तिपुर क्षेत्र (प्राचीन कान्तिपुर) मा बसेका थिए। मल्लहरू सुरुमा गण्डकी क्षेत्रमा र पछि उपत्यकामा कतै न कतै बसोबास गरेको पाइन्छ।