Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा पूर्वाधार विकासको आवश्यकता र त्यसका आयामहरू

  • Ajnabee Khadka
  • October 06, 2023
  • 563

नेपालमा पूर्वाधार विकासको आवश्यकता र त्यसका आयामहरू

नेपालमा पूर्वाधार विकासको आवश्यकता र त्यसका आयामहरू

सन् ६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पाँच वर्षे गुरुयोजना मार्फत पूर्वाधार विकासमा ठूलो लगानी गर्यो । यसमा पनि त्यहाँको ‘क्युन्ग्बू एक्सप्रेसवे’ले पूरै देशलाई प्रगतीको दिशातर्फ लैजान उर्जा दिएको इतिहास विश्वसामू जगजाहेर छ । यही पूर्वाधार विकास कोरियाको उद्योगीक क्रान्तिको र आर्थिक प्रगतिको जरो बन्न पुग्यो ।

७२ सालको भूकम्पले नेपाली जनजीवनका साथै अर्थतन्त्र अस्तव्यस्त हुन पुग्यो । त्यो दुःखद दिनले धेरैको घर उजाड्यो । धेरैले आफन्त गुमाए । त्यो समय नेपालको जटिल भौगोलिक अवस्थाले गर्दा राहत तथा उद्दारमा कठिनाइ भएको हामीले देखैकै कुरा हो । त्यो समय सिंगो राष्ट्रले नै आपतको त्यस घडीमा पूर्वाधारको महत्व महशूस गर्यो । गुणस्तरीय पूर्वाधार विकास गरि भविष्यमा आइपर्न सक्ने संकटको घडीमा राहत तथा उद्धारलाई प्रभावकारी बनाउनै पर्ने आवश्यकता महशूस भयो ।

नेपालमा पूर्वाधार विकासका लागि अवसर

नेपालको अर्थतन्त्र अहिले पनि परम्परागत आर्थिक संरचनाहरुमै रुमल्लिरहेका कारण यहाँ आर्थिक विकासका लागि प्रशस्त ठाउँ छ । विकसित देशहरुको जस्तो ‘स्याचुरेशन’ विन्दुमा नेपाली अर्थतन्त्र पुगेको छैन । बाघको अगाडि शिकार उपलब्ध भए झैं आर्थिक विकासको प्रशस्त संभावना पनि नभएको होइन । प्राकृतिक साधन स्रोतको पनि उपलब्धता छ । युवा जनशक्ति पनि प्रशस्त छ । तर, आर्थिक विकासले गति लिएको छैन । किन ? किनभने त्यसका लागि चाहिने भौतिक पूर्वाधारको चरम अभाव छ ।

पूर्वाधार विकासको आवश्यकता

प्रगतिको अवसर पूर्वाधारको विकास पछि मात्र सिर्जना हुन्छ । गाउँगाउँमा बाटोघाटोजस्तो पूर्वाधार निर्माण गरेर नै पर्यटनको विकास, गाउँका कृषि उत्पादनहरु सहरमा बेच्ने अवसर, साना तथा मझौला उद्योगहरुलाई बजारसँग जोड्ने कडी, सिँचाइको विकास गर्दै कृषि उत्पादन वृद्धि, मलखाँदको सहज आपूर्ति हुने हो ।

जलविद्युत् जस्ता पूर्वाधारको निर्माण गरेर नै औद्योगिक उत्पादनको लागत घटाएर प्रतिस्पर्धी ढंगले औद्योगिक उत्पादनहरु गर्न सकिने हो । नेपालले आर्थिक खम्बाको रुपमा पनि कृषि, जलविद्युत्, पर्यटनजस्ता क्षेत्रहरुलाई मानेकै छ । दिगो तथा गुणस्तरीय पूर्वाधार विकासले नै नेपाली अर्थतन्त्रलाई चौतर्फी प्रगतिको अवसर प्रदान गर्नसक्छ । नेपाली कृषि उब्जनीलाई बजारको पहुँचको साथै उचित सिँचाइबाट किसानहरुको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सकिन्छ ।

योजनाबद्ध सहरीकरण र औद्योगीकरण

विकेन्द्रित पूर्वाधार विकास नै योजनाबद्ध सहरीकरण तथा औद्योगीकरण जग हो । नेपाल यस्तो देश हो जहाँ राजमार्ग भन्दा पहिले मोटरगाडी श्रमिकहरुको काँध चढेर भित्रियो । साथै, समयमै पूर्वाधार विकास हुन नसक्दै शुरु भएको अव्यवस्थित सहरीकरणले हाम्रा सहरहरु कुरुप बन्न पुगेका छन् ।

यसको समाधान र योजनाबद्ध सहरीकरण, औद्यौगीकरण तथा व्यवस्थित आर्थिक कोरिडोरको सारथी भनेको पूर्वाधार विकास नै हो । राष्ट्रिय राजमार्ग, जलविद्युत् परियोजना, संचार क्षेत्रमा लगानी र भौतिक संरचना निर्माणले नेपालको साना र मध्यमस्तरीय उद्योग विकासमा मदत गर्दछ ।

जनसहभागिता

पूर्वाधार परियोजनालाई दिगो बनाउन र समग्र सामाजिक परिवर्तन गर्न समुदायस्तरबाटै सहभागिताको आवश्यकता पर्दछ । विकास क्षेत्रमा लगानी बढ्दा स्वतः स्थानीय जनसहभागिता पनि बढ्न जान्छ र समुदायस्तरमा नै सकारात्मकता र सृजनात्मक वातावरण निर्माण हुन्छ । यसरी स्थानीय तहमा पूर्वाधार परियोजना प्रति अपनत्व बढ्दा विकास निर्माणका कार्यहरु दिगो हुन जान्छ । नेपालकै सामुदायिक वनको अवधारणाले जनसहभागिताद्वारा वन संरक्षण कार्यक्रम सफल भएको उदाहरण हाम्रा अगाडि छ ।

सबै क्षेत्रको केन्द्रमा भौतिक पूर्वाधार

नेपालले जुन–जुन क्षेत्रलाई आफ्नो आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको छ, ती सबै क्षेत्रको केन्द्रमा भौतिक पूर्वाधारको विकास नै रहेको छ । पर्यटन, जलविद्युत् र साना तथा मझौला व्यवसायहरु नेपाली अर्थतन्त्रका मेरुदण्ड हुन् । यी सबै क्षेत्रको प्रभावकारी विकासको केन्द्रमा भौतिक पूर्वाधारको विकास नै रहेको छ ।

बाटो, रेल पूर्वाधार, सुखा बन्दरगाह, एयरपोर्ट, जलविद्युत, सिचाँइ आदि क्षेत्रमा पूर्वाधारको विकास गर्न सके आर्थिक वृद्धि तीव्र गतिले गर्न सकिने गरिबीको रेखामुनि रहेका जनसंख्यालाई मध्यम वर्गमा उकाल्न सकिने विषय अब दोहोर्याइरहनु पर्ने विषय होइन । पर्यटन प्रवर्धनमा पूर्वाधारको भूमिका हेर्न हामीले मुस्ताङ जिल्लाले हजारौं स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरेको उदाहरण हेर्न सक्छौं ।

दक्ष जनशक्ति र युवा

कुनै देशको राष्ट्रिय उत्पादकत्वमा त्यहाँका जनशक्तिको सीप र क्षमताको ठूलो भूमिका हुन्छ । जनशक्तिको सीप र क्षमता बढाउन देशले कदम चाल्न जरुरी देखिन्छ । शुरुका केही ठूला स्तरका पूर्वाधार विकासमा खटिने वैदेशिक दक्ष जनशक्ति र प्रविधिबाट नेपाली जनशक्तिको क्षमतामा वृद्धि हुनुका साथै भविष्यका राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दा सीप र प्रविधिमा नेपाल विस्तारै आत्मनिर्भर भई सुनौलो भविष्यको जग राख्न सक्दछ ।

विगत तीन दशकमा पूर्वाधार क्षेत्रमा क्रान्ति ल्याउन सफल मुलुक दक्षिण कोरियाले पनि यहि फर्मुला अपनाएको देखिन्छ । साथै, ठूला पूर्वाधार विकासले रोजगार प्रदानगरि जनशक्ति पलायन हुने क्रम अन्त हुन सक्छ । नेपालबाट रोजगारी तथा शिक्षाको अवसर खोज्दै युवाहरु दैनिक हजारौंको संख्यामा विदेशिने क्रम जारी छ ।

यदि नेपालमा गुणस्तरीय शिक्षा, रोजगार र जीवनस्तरको अवसर हुने हो भने यो क्रम रोकिन सक्छ । पूर्वाधारको विकासद्वारा नै युवाहरुमा सकारात्मक ऊर्जाको संचार हुनुका साथै आर्थिक क्रियाकलापलाई चलायमान बनाउन सकिन्छ । र अन्ततः युवाहरुमा रहेको उच्चस्तरीय जीवन बाच्ने आकांक्षा पूरा हुन्छ ।

निर्यात प्रबद्र्धन

पूर्वाधार विकासले समग्र अर्थतन्त्र चलायमान बनाउनुका साथै राष्ट्रिय उत्पादन निर्यात गर्न ठूलो भूमिका खेल्छ । अन्तरदेशीय व्यापारको सक्षमकर्ता भनेको बन्दरगाह, राजमार्गको विस्तार, भन्सार व्यवस्थापन, विद्युत् तथा संचार सेवा, र वित्तीय पूर्वाधारहरु हुन् ।

छिमेकी भारतको गुजरात राज्यले निर्यात मैत्री पूर्वाधारहरु विकासमा जोड दिएर भारतकै निर्यातको केन्द्र बन्नपुगेको छ । ठूला बन्दरगाह, चौडा राजमार्ग, व्यवस्थित औधोगिक पूर्वाधारले नै गुजरातलाई निर्यात मुखी अर्थतन्त्र बनाएकोछ । नेपालले पनि गुजरातको सकारात्मक सिको गर्दै पूर्वाधारमा जोड दिने हो भने नेपालको अर्थतन्त्रमा निर्यातको हिस्सा बढाउन सकिन्छ ।

पूर्वाधारको गुणस्तरीय

अहिलेसम्म भएका पूर्वाधार विकासको केन्द्रमा गुणस्तरको महत्वको विषयमा व्यापक छलफल हुन सकेको छैन । निर्माण सामग्रीको वा निर्माण उपकरणको गुणस्तरमा ध्यान दिने हो भने निर्माण सम्पन्न नै नभएर भत्किने पुल र सडकका समाचार विरलै सुन्न पाइन्छ । यस्तो अभ्यासले राज्यको स्रोत साधनबाट अधिकतम लाभ उठाउन सक्छ । निर्माण समाग्री र उपकरणको खरिदमा एउटा निश्चित मापदण्ड स्थापित गरी त्यसको नियमित अनुगमनले गुणस्तरीय पूर्वाधार र त्यसले ल्याउने दिगो विकासलाई सुनिश्चित गर्न सक्छ ।

निष्कर्ष

भौतिक पूर्वाधारको विकासका कारण समग्र देशकै आर्थिक विकासले गति लिएको उदाहरण हाम्रो सामु प्रशस्तै छन् । बाटोघाटो, पुल इत्यादीको निर्माणले दोस्रो विश्व युद्धताका गरिब देशको सूचीमा रहेको जापानले गरेको आर्थिक प्रगति हाम्रै सामु छ ।अहिले विश्वको आर्थिक महाशक्ति बन्ने बाटोमा लागेको चीन पनि भौतिक पूर्वाधारको निर्माणमा तीव्र गतिमा लागेकै छ । त्यसैले नेपालको निम्ति पनि प्रगतिकोढोका पूर्वाधार विकासले नै खोल्न सक्छ ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1140
  • Vacancy 1
  • Past Questions 124
  • Nepal Police 8

Latest Blogs

Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Aug 16, 2026
  • 1
Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Aug 16, 2026
  • 60
Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 340
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 410
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA